जात्रा सिक्वेल ‘जात्रै जात्रा’ घोषणा, अनमोलको ‘क्याप्टेन’सँग भिड्ने

सुपरहिट फिल्म 'जात्रा'माथि सिक्वेल बन्ने भएको छ । निर्माताले राजधानीमा विहिबार आयोजित प्रेसमिटमा ‘जात्रै जात्रा’ घोषणा गरे । 

फागुन १७ (१ मार्च)लाई रिलिज मिति तय गरिएको छ । उक्त मितिमा अनमोल केसी स्टारर ‘क्याप्टेन’ समेत प्रदर्शन हुँदैछ । यी दुईबीचको भीडन्त हेर्नलायक हुनेछ ।




प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहने फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतको मुख्य अभिनय हुनेछ ।

दशैं पूर्णिमाको भोलिपल्टदेखि छायांकन सुरु हुने फिल्मका कार्यकारी निर्माता रविन्द्र हुन् । सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा छन् । शिवराम श्रेष्ठको छायांकन र मीत्र गुरुङको सम्पादन हुनेछ ।




प्रेसमिटमा बोल्दै निर्माता एवं अभिनेता बानियाँले जात्राभन्दा राम्रो कथा भेटाएपछि सिक्वेल बनाउन लागेको बताए । दर्शकको आशालाई कम हुन नदिने उनको दाबी छ ।

निर्देशक भट्टराई भन्छन् : फिल्मले पैसाको मात्र कथा भन्दैन । दर्शकले सरप्राइज प्याकेज पाउनुहुनेछ । जात्रा सकिएको ठाउँबाटै जात्रै जात्राको उठान हुनेछ । अभिनेता कार्कीले कथा विशेष रहेको बताए ।

अभिनेत्री राउतले सिक्वेलमा पनि आफू बिपिनकै पत्नीको भूमिकामा देखिन लागेको बताइन् । कार्यक्रममा अभिनेता हरिवंश आचार्यले शुभकामना दिए । राजधानीको असन र बौद्धमा फिल्मांकन हुने जनाइएको फिल्म बजेट डेढकरोड राखिएको छ ।

Powered by Blogger.