'मेरी मामु' हेर्नुअघि जान्नुपर्ने केही तथ्य

जानरामा आधारित फिल्म धमाधम बन्न थालेका छन् । पात्र, चरित्र चित्रण र द्धन्द्धमा संवेदनशिल रहेर बन्ने यस्ता फिल्ममा ठूला ब्यानरको संलग्नता हुन थालेको छ । जस्तो, यसैसाता हलमा रिलिज भएको आसुसेन फिल्मसको चाइल्ड ड्रामा ‘मेरी मामु’ ।

बक्सअफिस गणित भिन्न पक्ष हो तर, समिक्षक प्रतिक्रिया उत्साहजनक छ । खासगरि, नेपाली फिल्मलाई लाग्दै गरेको आलोचनामा पटकथा मुख्य हो । यस क्राइसिसलाई मेरी मामुले सम्बोधन गरेको छ । बालकलाई बालककै दृष्टिबाट न्यारेट गरिएको एउटा फिल्म हो मेरी मामु ।





६ वर्षे बालक जसले आँखा अगाडि आमा गुमाउँछ । उसलाई लाग्छ, उसकै आमाकी हितैषी हत्यारा हो । बाल दृष्टिले जे सोच्छ, त्यसलाई परिवर्तन गराउन निकै मुस्किल हुन्छ । मेरी मामुको थिम भनेको यथार्थ भर्सेस भ्रम हो । यसमा कसको जित हुन्छ, फिल्म हेर्नैपर्छ ।

मुख्य पात्र आयुव सेन (प्र्रेम) हुन् जसले एक दुर्घटनामा आमा गुमाउँछन् । आमाको भूमिकामा छिन् डेब्यु गर्ल कुसुम गुरुङ । यी दुबैको अभिनय अब्बल लाग्छ भलै डेब्यु नै किन नहोस् ।

‘प्रेमगीत २’ फेम्ड अश्लेषा ठकुरी र सारुक ताम्राकारको अभिनयले फिल्ममा ऊर्जा भरेको छ । मुख्यतः निर्देशक एवं लेखक याम थापा धन्यवादका पात्र छन् जसको काममा परिपक्वता महसुस गर्न सकिन्छ । उनले पटकथा विन्यासमा इन्गेज र इन्टेन्सिटी सिर्जना गरेका छन् जसले दर्शकलाई होल्ड गर्छ ।

नुसेन्स (मानवीय सुक्ष्मता र व्यवहार)लाई बाल अभिनयबाट चित्रण गर्न सक्नु फिल्मको अर्को खुबी हो । गुगल पुस्तामा हुर्किएको बालक जो क्रिस्टियानो रोनाल्डोको ठूलो फ्यान हो । जो एप्पलको ट्याब्लेट चलाउँछ र सौतेनी आमालार्ई कसरी मार्नुपर्छ भनेर गुगल सर्च गर्छ । प्रविधिले कसरी बाल मनोविज्ञानमा प्रभाव पारेको छ भनेर मेरी मामुले नुसेन्स चित्रण प्रयत्न गरेको छ । यो एक सामाजिक विम्व हो । समाजको गति, चरित्र र हुर्किएको पुस्ताको एक चित्र ।

पात्रको लक्ष्य, द्धन्द्ध र क्राइसिस सिर्जना गर्न सक्नुमा पटकथा लेखकको ध्येय झल्कन्छ । भलै, केही लुपहोल्ज अवश्य छन् फिल्मभित्र, समग्रतामा इन्गेज र इमोसन ट्रान्सफरले फिल्मलाई जीवन्त बनाइदिएको छ । मुख्य पात्रभित्रै दर्शक छिराउन सक्नु र पात्रसँग अन्तक्रिया गराउन सक्नुमा निर्देशकीय खुबी प्रष्टिन्छ ।

फिल्मको अब्बलता समाजसँग जोडिन सक्नुमा निर्भर हुन्छ । समाज र द्धन्द्धलाई स्वभाविक चित्रण गर्नसक्नु दृश्यभाषाको सशक्तता हो । मेरी मामुले उक्त प्रयत्न गरेको छ ।
Powered by Blogger.