सौगात–खगेन्द्र स्टारर 'जय भोले' ट्रेलर लन्च

रिलिज मिति बिनै फिल्म ‘जय भोले’ले ट्रेलर लन्च गरेको छ । राजधानीमा विहिबार आयोजित प्रेसमिटमा निर्माता एवं निर्देशक अशोक शर्माले ट्रेलर सार्वजनिक गरे । 

मल्टिस्टारर ट्रेलरमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेल, बुद्धि तामाङ, जयनन्द लामा, लक्ष्मी गिरी लगायत फिचर्ड छन् ।




एउटै युवतीलाई दुई दाजुभाईले मनपराउँदा उत्पन्न हुने परिस्थिती फिल्मको कथावस्तु हो । मुख्य पात्र समेत रहेका लामिछानेले पटकथा लेखेका हुन् । उनी जय नामक पात्रको रुपमा चित्रित छन् ।

निर्देशक शर्माले फिल्म इमोसन प्याकेज भएपनि ट्रेलरलाई हाँस्यप्रधान बनाइएको बताए । ‘ट्रेलरमा भन्दा सयौं गुणा बढी खुराक फिल्मभित्र छ’ शर्माले छक्का पञ्जा ३ सँगको सम्भावित भीडन्ततर्फ लक्षित गर्दै भने, ‘पाण्डव र कौरवभन्दा माथि जय भोले हुन्छ ।’




प्रेसमिटको अधिकांश समय छक्का पञ्जा ३ सँगको रिलिज जुधाइबारेका प्रश्न सोधिएको थियो । जय भोले रिलिजका लागि काठमाडौंका हलसँग लिखित सम्झौता भएको खुलासा गर्दै शर्माले त्यसको पालना गर्नु नैतिक दायित्व भएको बताए ।

ट्रेलरमा रिलिज मिति उल्लेख नभएपनि घटस्थापनामा फिल्म प्रदर्शन हुने सम्भावना बलियो रहेको उनले जनाए । छक्का पञ्जा ३ ले पनि अहिलेसम्म रिलिज मिति सार्वजनिक गरेको छैन । दुबैले दशैं भन्दै आइरहेका छन् ।

राजेशपायल राई फाउन्डेसनलाई अर्थ सहयोग
उक्त अवसरमा गायक राजेशपायल राईले स्थापना गरेको सामाजिक संस्था राजेशपायल राई फाउन्डेसनलाई नगद २५ हजार रुपैयाँ प्रदान गरियो । उक्त रकम अनाथ र असहाय बालबालिकाको लागि खर्च गरिने जानकारी गायक राईले दिए ।

शर्माकै फिल्म गरिबबाट सांगीतिक करियर थालेका राईले जय भोलेमा पनि पाश्र्वगायन गरेका छन् । पछिल्लो समय विश्वव्यापीरुपमा नेपाली कलाकारको माग बढ्न थालेको बताउँदै उनले ग्लोबल कन्सर्टबाट उठेको रकमको ५ प्रतिशत फाउन्डेसनमा जम्मा हुने जनाए । 
Powered by Blogger.