पत्नी हिरोइन खेलाउन फिल्म बनाएँ : अनुरागबारे ऋषि धमला

ऋषि धमला अब व्यक्ति मात्र रहेनन् । नेपाली मिडियाका एक विम्व समेत बने । अब भने उनको नयाँ इनिङ्स सुरु भएको छ । 

उनी फिल्म निर्माताको रुपमा दरिएका छन् । उनले निर्माण गरेको फिल्म अनुराग १२ असोजमा रिलिज हुँदैछ । दशक लामो समय विमर्श साप्तहिकमा प्रेम र जीवन स्तम्भ लेखेका उनले बनाएको फिल्मको जनर पनि प्रेम नै हो ।



पत्नी एलिजा गौतमसँग विहे गरेपछि उनमा फिल्म निर्माता बन्ने योजना पलायो । हामीसँग यो जोडीले अन्तरंग कुरा साटे । सानैदेखि हिरोइन बन्ने धोको पालेकी एलिजा जब धमलाकी जीवनसाथी बनिन् तब, उनमा होमप्रोडक्सन हिरोइन बन्ने पालुवा पलायो ।

धमलाले फिल्म बनाएरै उनलाई साथ दिए । ‘उहाँ २१ वर्षको हुनुहुन्थ्यो । विहेपछि फिल्ममा स्थापित हुने सोच थियो उहाँको । विहेपछि चलचित्र क्षेत्रमा जम्छु भन्नुभयो र फिल्म बनाएका हौं’ हालैको एकदिन धमला दम्पत्ति गफिए ।



‘एलिजासँग विहे नभएको भए फिल्ममा आउने थिइँन’ भन्छन्, ‘उहाँमा वास्तवमै अभिनय गर्ने क्षमता छ ।’ युवा केटाकेटीको पीडादायी प्रेमलाई फिल्ममा समेटिएको एलिजा कथन छ । निर्देशकदेखि कलाकारसम्म सबै नयाँ लिनुलाई उनले जोखिमको रुपमा व्याख्या गरिन् ।

फिल्ममा उनले समुन्द्र पण्डितसँग अनस्क्रिन रोमान्स गरेकी छन् । म्युजिकल लभस्टोरी फिल्ममा एलिजा लभरगर्ल छिन् । ‘हामीलाई भिन्न लभस्टोरी चाहिएको थियो’ उनले जनाइन् ।

उक्त मितिमा अन्य दुई फिल्म समेत रिलिज हुँदैछन् । यसप्रति प्रस्तुतकर्ता समेत रहेका धमला केही आक्रोशित सुनिए । प्रतिस्पर्धा गर्दा घाटा निर्मातालाई हुने भन्दै उनले अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने खालको फिल्म बनाउनुपर्ने खाँचो औंल्याए ।

राजनीतिक वृत्तमा तपाईंको फिल्म चर्चा कति छ ? धमलाले भने, ‘ओली, प्रचण्ड र शेरबहादुरजीलाई भनेको छु । उहाँहरुले तपाईंको फिल्म हेर्छौ भन्नुभएको छ । एउटा स्पेसल सो आयोजना गर्ने योजनामा छौं रिलिज अगाडि नै ।’

सत्यराज चौलागाइँले निर्देशन गरेको फिल्ममा गीता भेटवाल र भरत गौतमको समेत लगानी छ । 
Powered by Blogger.