जनजाति फिल्म फेस्टिभलमा ‘यारी’ उत्कृष्ट, अरुण बेस्ट निर्देशक

अमेरिकी सहर न्यूयोर्कमा दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव–२०१८ सम्पन्न भएको छ । छानिएका नौ फिल्ममध्येबाट किराँत–राई भाषाको फिल्म ‘यारी’ सर्वोत्कृष्ट भएको छ । 

याख्खा भाषाको फिल्म ‘ओम्ला’बाट अरुणकुमार प्रधान सर्वोत्कृष्ट निर्देशक दरिएका छन् । यस फिल्मलाई चलचित्र विकास बोर्डले विशेष फिल्मको रुपमा सम्मान गरेको छ ।




‘१२ नेपाली एक चिहान’ फिचर निर्देशन गरेका प्रधानले यसअघि लिम्बु फिल्म ‘फुङ्वामा’, किराँत राई फिल्म ‘पसिनाले सिन्चेको भूमि’ निर्देशन गरिसकेका छन् ।

फेस्टिभलमा गुरुङ भाषाको ‘भेँडी गोठाले’बाट राजेश गुरुङ उत्कृष्ट अभिनेता, नेवारी फिल्म ‘स्वनयगु’बाट भिन्तुना जोशी उत्कृष्ट अभिनेत्री, तामाङ फिल्म ‘सेम्की तम’बाट प्रिया तामाङले उत्कृष्ट कथा, राई फिल्म ‘यारी’बाट युवराज राईले उत्कृष्ट छायांकन जितेका छन् ।



नेवारी फिल्म ‘स्वनयगु’बाट अमृतमान महर्जनले उत्कृष्ट पटकथा, मगर फिल्म ‘रैयाँ’ले उत्कृष्ट संगीत अवार्ड जितेका छन् । छानिएका तीन छोटा फिल्मबाट सुनुवार फिल्म ‘गिल स्याँदर’ उत्कृष्ट डकुमेन्ट्री बनेको छ ।

उत्कृष्ट हुने फिल्मलाई नगद नेरु १ लाख २५ हजारले पुरस्कृत गरियो । उत्कृष्ट छोटो फिल्म र डकुमेन्ट्रीलाई ३१ हजार नेरु प्रदान गरियो । 
Powered by Blogger.