‘इन्टु-मिन्टु लन्डनमा’ ओपनिङ : ८५ लाख नेरु ग्रस

आइकोर फिल्मसको रोमान्टिक ड्रामा ‘इन्टु मिन्टु लन्डनमा’ले प्रक्षेपण बढी ओपनिङ गरेको छ । शुक्रबार फिल्मको देशव्यापी कारोबार ८५ लाख नेरु ग्रस छ । सय पर्दाबाट फिल्मले उक्त कमाइ गरेको हो । 




मध्यम वर्गको बसोबास बढी भएका ठाउँहरु काठमाडौं, पोखरा र नारायणगढमा व्यापार उच्च छ । काठमाडौंमा फिल्मले ५५ लाख नेरु ग्रस कमाएको अनुमान छ । पोखराका दुई ठूला मल्टिप्लेक्सका सबै सोज हाउसफूल रहे र शनिबार सोजमा वृद्धि हुने तयारी छ ।

रेनशा बान्तवा राई निर्देशित फिल्मले अपेक्षाभन्दा बढी ओपनिङ गर्नुमा विषयवस्तु, बजार, मनोरञ्जन र विविधताको तत्वलाई कारक मानिएको छ । मध्यम वर्गलाई मनपर्ने ‘लार्जर द्यान लाइफ’ समेटिएको कारण बक्सअफिसमा उछाल ल्याएको बताइन्छ ।

निर्माण कम्पनी आइकोर प्रमुख प्रज्वल राणाले काठमाडौं टेरिटोरीमा मात्र फिल्मले ५५ लाख नेरु ग्रस कमाएको बताए । ‘शुक्रबार अंक र सोज संख्या बढ्ने पक्का छ’ उनले भने, ‘वर्ड अफ माउथको बलियो प्रभाव हो यो ।’ धीरज मगर, साम्राज्ञी शाह र सारुक ताम्राकार अभिनित फिल्म चर्चित कोरियोग्राफर समेत रहेकी राईको डेब्यु हो । 
Powered by Blogger.