‘पञ्चायत’ नेपालबाट अस्कर अवार्डमा सिफारिस

‘पञ्चायत’ सन् २०१९ को अस्कर अवार्डमा विदेशी भाषी फिल्म विधातर्फ प्रतिस्पर्धाका लागि नेपालबाट सिफारिस भएको छ । छनौट समितिले एक विज्ञप्ती जारी गर्दै शिवम अधिकारी लिखित एवं निर्देशित फिल्मलाई पठाउने निर्णय गरेको हो । 

साम्तेन भुटिया निर्देशित ‘तान्द्रो’ र तासिओकी इतोह निर्देशित 'माइ लभ : प्रमिस फर काठमाण्डू' पनि प्रतिस्पर्धामा थिए । कथावस्तु, चरित्र, सन्देश र प्रविधिगत गुणका आधारमा पञ्चायतलाई अस्करमा सिफारिस गरिएको समिति सचिव चिरञ्जीवि गुरागाइँले बताए ।




सरोज खनाल, नीता ढुंगाना, रुपा राना, गणेश गिरी लगायतको अभिनय रहेको फिल्म पेरियोडिक र सोसल ड्रामा हो । राजतन्त्र कायमै रहेको र निर्दलीय शासन लागु भएको बेला पश्चिम नेपालको बागलुङ, बलेवाको सेटिङमा यसमा चित्रण गरिएको छ ।

छाउपडी पीडित युवतीको मनोवैज्ञानिक, राजनीतिक, सामाजिक र भौतिक संघर्ष फिल्मको द्धन्द्ध हो । व्यापार खासै नगरेपनि फिल्मलाई रुचाइएको थियो । नीता ढुंगानाले मुख्य रोलबाटै यसवर्ष अमेरिका र नेपालमा यसैसाता बाँडिएको सिने सर्कल अवार्ड जितेकी थिइन् ।

गणेश गिरी, सुशान्त श्रेष्ठ, रवि अधिकारी र शंकरप्रसाद सुवेदीले कलावती फिल्मस र हेटौंडा मुभिमेकर्ज टीमको ब्यानरमा निर्माण गरेका हुन् । जनवरी २२ मा एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले अस्कर मनोनयन सार्र्वजनिक गर्दैछ भने २४ फेव्रुअरीमा अवार्ड वितरण हुनेछ । 
Powered by Blogger.