मिस नेपाललाई बिदाइ, यस्तो छ श्रृंखलाको मिस वर्ल्ड तयारी

विभिन्न मुलुकमा हुने अन्तराष्ट्रिय प्रतिस्पर्धाका लागि मिस नेपालका चारैजना सुन्दरीलाई बिदाइ गरिएको छ । मंगलबार राजधानीमा आयोजित समारोहमा आयोजक संस्था द हिडन ट्रेजरले मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा लगायतलाई बिदाइ गरेको हो । 

खतिवडासहित मिस युनिभर्स मनिता देवकोटा, मिस नेपाल अर्थ प्रिया सिग्देल र मिस इन्टरनेसनल रोनाली अमात्यलाई बिदाइ गरियो । चारैजनाले उपाधी जित्न र देशको नाम उच्च बनाउन आफूहरुले मिहेनत गर्ने बताए ।





मिस अर्थका लागि सिग्देल आगामी अक्टोबर ५ मा फिलिपिन्सको मनिलातर्फ प्रस्थान गर्दैछिन् । मिस इन्टरनेसनलका लागि अमात्य अक्टोबर २० मा जापान प्रस्थान गर्नेछिन् । मिस वल्र्डका लागि खतिवडा नोभेम्बर १० मा चीनको सान्या जाँदैछिन् । मिस युनिभर्सका लागि देवकोटाको प्रस्थान मिति तय छैन ।

यसपटक ‘ब्युटी अफ प्रपोज’का लागि श्रृंखलाले मकवानपुरको दुर्गम कैलाश गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माणको भिडियो प्रस्तुत गर्ने भएकी छन् । ‘कुपोषणग्रस्त उक्त चेपाङ गाउँको यथार्थ प्रस्तुत गर्दैछु’ खतिवडाले भनिन्, ‘यसबाहेक नेपाली संस्कृति झल्काउने नृत्य र जोन लेननको गीत इम्याजिन गाउँदैछु ।’

आयोजक संस्था द हिडन ट्रेजरका अनुसार यसपटक अन्तराष्ट्रिय प्रशिक्षकलाई नै बोलाएर तालिम दिइएको छ । संस्था प्रमुख गोपाल कक्षपतिले सरकारी सहयोग नहुँदा काम गर्न कठिन भएको बताए । ‘विदेशमा नेपाल चिनाउन खर्च हुने करोडौं रकम बराबरको काम हाम्रो ५ मिनेटको भिडियोले गर्छ’ उनले भने, ‘टुरिजम बोर्ड लगायतले सहयोग गर्नुपर्ने हो ।’

हिडन ट्रेजरले मिस नेपालको आगामी २४ औं संस्करणलाई सिल्भर जुब्लीसहित भव्य ढंगले मनाउने तयारी थालेको जानकारी दिए । 
Powered by Blogger.