‘लभ स्टेसन’मा जसिता र प्रदीपको जोडी

‘लिलीबिली’ जोडी प्रदीप खड्का र जसिता गुरुङले पनि स्क्रिन सेयर गर्ने भएका छन् । यी दुई लभस्टेसन फिल्ममा एकसाथ देखिन लागेका हुन् । 

५ असोजमा दार्जिलिङदेखि छायांकन सुरु हुने फिल्मलाई उज्ज्वल घिमिरे निर्देशन गर्दैछन् । मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाह समेत मुख्य भूमिकामा छन् ।



ठाउँको नामको आधारमा फिल्मको नाम ‘लभस्टेशन’ जुराएको निर्देशक घिमिरेले बताए । कथाअनुसार प्रदीप र जसिताको जोडी सही भएकाले आफूले फिल्म गर्न तयार भएको पनि उनले बताए ।

पटकथा घिमिरेकै हो । उनले यसलाई ड्रीम्स प्रोजेक्ट बताए । यस्तै अभिनेता खड्काले पनि स्क्रिप्ट राम्रो पाएको र सिनियर निर्देशक घिमिरेसँग काम गर्न पाउँदा खुसी लागेको बताए । पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतका फिल्मभन्दा पृथक लभ स्टेसन बन्ने पनि उनले बताए ।

काफिया फिल्म्स्सँग ‘लिलीबिली’मा काम गरेको र यही व्यानरले प्रदीपसँग आफूलाई चयन गरेको हुँदा खुसी लागेको जसिताले बताइन् । प्रस्तुतकर्ता गोविन्द शाही हुन् ।



फिल्मी ‘लिलीबिली’ निर्माण गर्दा नै प्रदीप र जसितासँग दुई फिल्म निर्माण गर्ने सम्झौता भए बमोजिम लभ स्टेशनमा पनि यी दुईलाई जोडीको रुपमा लिएको शाहीले बताए ।

४५ दिन छायाँकन अवधी तय गरिएको यो फिल्म आगामी फागुनको अन्तिम साता प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षको छ ।

आलोक शुक्लाको छायाँकन, शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहने छ । दार्जिलिङका उमेश थापा लाइन निर्माता रहेका यो फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन् । 
Powered by Blogger.